ब्रोइलर कुखुरा पालन ‘जुवाको खेती’ दलाललाई फाईदै फाईदा किसानलाई सधै क्षति |
विश्व ब्रोइलर कुखुरा पालन बजारमा
छिमेकी देश भारत र चीनको भूमिका निकै दरिलो छ । नेपाल पनि यो व्यवसायमा आत्मनिर्भर
नजिक पुगेको छ ।
ब्रोइलर कुखुरा पालन का लागि आवश्यक कच्चा पदार्थमा छिमेकीकै भर
पर्नुपर्ने बाध्यकारी अवस्थाले भने नेपालमा सोचेजस्तो व्यवसायको स्तरोन्नति हुन
सकेको छैन । ब्रोइलर कुखुरा पालन व्यवसाय गर्नेहरुको जमात बढे पनि
अन्तर्राष्ट्रिय ब्रोइलर कुखुरा
पालन बजारमा नेपालले पहुँच जमाउन भने अझै केही समय
लाग्ने देखिन्छ ।
पछिल्लो समय नेपालमै
हजारौं मेट्रिक टन मासु र लाखौको संख्यामा अण्डा उत्पादन हुँदै आए पनि यसले
नेपालको आवश्यकता अझै थेग्न सकिरहेको छैन । अन्य कृषि उपजको तुलनामा आत्मनिर्भरको
नजिक पुगिएको भनिएको पेशा भए पनि सहज बजारिकरणको अभावमा धेरै चुनौतीका चाङहरु छन्
। कृषकले उत्पादन गर्ने, यसको जिम्मेवारी कृषक
बन्ने अनि कमाउने चाहिँ बिचौलिया भएपछि ब्रोइलर कुखुरा पालन व्यवसायबाट बिरक्तिनेहरुको जमात बढ्दो छ ।
बिचौलियाको चंगुल
दानाको मूल्य दाना
कम्पनीले तोक्ने । चल्लाको मुल्य ह्याचरी कम्पनीले तोक्ने । बजार मुल्य भने बिचौलिया अर्थात कोल्ड स्टोर्सहरुले तोक्ने
। कृषक भने आफ्नो वस्तुको मूल्यांकन अरुलाई गर्न लगाउनुपर्ने । आफ्नो वस्तुको
मूल्य अरुलाई तोक्न लगाउनुपर्ने । दाना कम्पनीले जति मूल्य भन्यो, त्यति नै तिर्न तयार हुनुपर्ने । ह्याचरी
कम्पनीले जति भन्यो त्यतिमै चल्ला खरिद गर्नुपर्ने । महिनौं दिन दुःख गरेर
स्याहार्ने कृषक, हालिमुहाली भने
बिचौलियाको ।
कृषकले हुर्काएको
कुखुरामाथि कृषककै अधिकार हुनुपर्छ । कृषक आफैंले नै कुखुराको मूल्य तोक्न
पाउनुपर्छ । हैन भने सरकारले उचित दररेट तोकिदिनुपर्छ । कोल्ड स्टोर व्यवसायी
संघले अहिले कुखुराको मूल्य तोक्ने गरेको छ । तोकिएको मूल्यमा पनि व्यवसायीहरु २०
रुपैयाँ भन्दा बढी घटाएर कृषकलाई हिसाबकिताब बुझाउँछन् । सबैभन्दा पहिले यो
क्षेत्रको विकास र विस्तारका लागि कृषकको पक्षमा नियामक निकाय दरिलो भएर उपस्थित
हुनु आवश्यक छ ।
अस्थिर बजारिकरण
नेपालमा अहिले ब्रोइलर कुखुरा पालन बजारको
अवस्था अस्थिर छ । कुनै समयमा महंगो पनि हुन्छ, कुनै समयमा उठ्न नै नसक्ने गरी थचक्कै बसाउने गरी मुल्य घटिदिन्छ । जब चल्लाको मुल्य महंगो हुन्छ, अनि उत्पादन भएको कुखुराको मूल्य भने घट्छ । तब घाटामा कृषक
जान्छ, उसले समयमा आफ्नो खोरमा
खोरमा चल्ला राख्न सक्दैन । कृषक खाल्डोमा परेको मौका छोपी ठूला व्यापारीहरु आफ्नो
खोरमा कुखुराको चल्ला छोड्छन् । सामान्य कृषकलाई १ सय रुपैयाँमा चल्ला किनेर
प्रतिकिलो १ सय ५० रुपैयाँमा बेच्नुपर्ने बाध्यकारी अवस्था सिर्जना हुन्छ ।
उदाहरणकै लागि २ हजार
कुखुरा पाल्नको लागि चल्लालाई मात्रै १ सय रुपैयाँको दरले २ लाख रुपैयाँ पर्छ ।
त्यसले करीब साढे ४ लाख रुपैयाँको दाना खान्छ । करिब साढे ७ लाख भन्दा बढी खर्च
हुन आउँछ । हिसाब गर्दा सरदर २ किलो ५ सय ग्रामको २ हजार कुखुराको प्रतिकिलो १ सय ५०
को दरले साढे ७ लाख रुपैयाँ भन्दा बढी हुँदैन । यो हिसाबमा खर्च र आम्दानी बराबर
हुन आउँछ । यसमा प्रतिकिलो १० रुपैयाँ मात्रै थप हुने हो भने पनि ५० हजारको फरक
हुन आउँछ ।
नियामक निकाय भने यस
विषयमा मौन छ । उचित मूल्य निर्धारण मात्रै हुन सक्यो भने पनि कृषक मर्कामा
पर्दैनन् । ब्रोइलर कुखुरा पालन व्यवसायीमा पछिल्लो समय देखिएको अस्थिर बजार
मूल्यले कृषकलाई यो ब्यवसाय ‘जुवाको खेती’ सरह भएको छ । नियामक निकायले उचित मूल्य
निर्धारण गरी व्यवसायबाट पलायन हुने सम्भावनाबाट युवाहरुलाई रोक्न सक्नुपर्छ ।
नत्र एक दिन फेरि छिमेकी देशबाट अत्याधिक आयात गर्नुपर्ने दिन नआउला भन्न सकिन्न ।
बीमा कम्पनी बीमा गर्न नै
मान्दैनन्
टाठाबाठाहरुको ब्रोइलर कुखुरा पालन फर्ममा
बीमा कम्पनीले बीमा गर्ने गरेको भए पनि सर्वसाधारणको खोरमा भने बीमा कम्पनीको नजर
पुग्न सकेको छैन । बीमा गर्नकै लागि बीमा कम्पनीसँग ‘विनम्र आग्रह अनुरोध’
गर्नुपर्ने परिपाटी तीव्र बढ्दो छ । ब्रोइलर कुखुरा पालन आफैंमा चुनौतीको पेशा हो
। यसमा गुम्ने र कमाउने दुबै सम्भावना बराबर जस्तै हुन्छ ।
त्यसैले पनि कम्पनीहरु
यतातिर बीमा गर्न नै चाहँदैनन् । उनीहरु विभिन्न बहाना बनाउँदै पन्छिन्छन् । बीमा
कम्पनीहरु ब्रोईलर कुखुरा पालनलाई ‘फुकेर ठूलो पारेको बेलुन’ जस्तै ठान्छन् ।
आम्दानीभन्दा प्रिमियम बढी तिर्नुपर्ने अवस्थाकै कारण उनीहरु यस क्षेत्रमा प्रवेश
गर्न नै चाहँदैनन् ।
कर्जा प्रवाहमा आनाकानी
अन्य क्षेत्रमा बैंकले
सजिलै ऋण उपलब्ध गराउँछ । व्यापार र अरु व्यवसायमा त झन कुनै आनाकानी नै हुँदैन ।
बाणिज्य बैंकहरुले अनिवार्य सहूलियत ऋणमा कृषि कर्जा प्रवाह गर्नुपर्ने सरकारको
नीति छ । तर बैंकहरुले यो क्षेत्रमा सहज कर्जा प्रवाह गर्न मान्दै मान्दैन । यदि
सहुलियत ब्याजदरको कृषि कर्जा प्रवाह भैहाले पनि त्यो पहुँचवामा मात्रै सीमित छ ।
ब्रोइलर कुखुरा पालन फर्म
देखाएर कृषि कर्जा निकाल्ने र त्यो रकम अन्यत्र लगानी गर्ने परिपाटी पछिल्लो समय
ब्यापक छ । सामान्य जीविकोपार्जन गरिरहेका तर केही गर्छु भनेर कर्जाका लागि बैंकको
ढोकामा पुगेकालाई बैंकले चिन्दै चिन्दैन । उनीहरुलाई कृषि कर्जा प्रवाह गर्यो भने
ब्याज त त्यस्तै हो सावाँ समेत गुम्ने हो कि भन्ने बैंकहरुलाई लागेको छ । सामान्य
ब्रोईलर पालक कृषकमा सहूलियत ब्याजदरको कर्जा प्रवाह नहुनु आफैंमा बिडम्बना हो ।
यसमा नियामक निकायको गम्भीर ध्यान जानु जरुरी छ ।
‘खोर काँटा’ आवश्यक
कृषककै खोरमा गएर खोरबाट
नै कुखुरा तौलिनुलाई ‘खोर काँटा’ गर्ने भनिन्छ । ब्रोईलर कुखुरा उत्पादन गरिसकेपछि
पनि कृषकलाई सुख छैन । सहज बजारिकरण हुँदाहुँदै पनि कृषक खोरमा भएको कुखुरालाई
हेर्दै लामो सास फेर्न बाध्य छन् । व्यापारीहरु व्यवसायीको खोरमा कुखुरा जोख्न नै
मान्दैनन् । उनीहरुकै ढोकामा लगेर जोखिदिनुपर्ने परिपाटी छ । कोल्ड स्टोर्ससम्म
आईपुग्दा हुने क्षति सबै कृषकले ने बेहोर्नुपर्ने हुन्छ ।
रातदिन नभनिकन उत्पादन
गरिएको वस्तुलाई व्यापारीसम्म पुर्याउँदा भएको क्षति समेत बेहोर्नुपर्ने कृषकको
बाध्यकारी अवस्था अन्त्यका लागि सरकारले थप कानुनी प्रावधान बनाउनु जरुरी छ ।
व्यापारीहरु ‘काँटामा टाँका’ मार्नका लागि पनि खोरमा कुखुरा जोख्न नै मान्दैनन् ।
सामान्य लेखपढ समेत नजान्ने कृषकलाई उनीहरुले सामान्य ललिपपमै झुलाएर ठग्ने
प्रवृति छ । एकातिर बाटोमा भएको क्षति आफैंले बेहोर्नुपर्ने, अर्कोतिर काँटामा समेत टाँका मार्ने भएपछि कृषक
दोहोरो मारमा मात्रै होइन, पलपलको मारमा छन्
।
चल्लामा चलखेल
ब्रोइलर कुखुराको
जातमध्ये सबैभन्दा प्रचलित ‘कब ५००’ नै हो । धेरैले यही जातको ब्रोइलर कुखुरा
पाल्ने गरेको पाइन्छ । यसको छाती ठूलो हुने, छिट्टै तौल बढ्ने र प्रतिफल पनि राम्रो दिने भएसँगै यसप्रति
सबैको आकर्षण छ । कुखुरा राम्रो हुनुमा जातमा मात्रै हैन, चल्लाको तौलमा पनि भर पर्छ । प्रायः ४५ ग्रामभन्दा माथि
चल्लाको तौल हुनुपर्ने हो । त्योभन्दा तलको तौल भएका चल्लाहरु पछि त्यति राम्रोसँग
फस्टाउन नसक्ने हुन्छ । कम तौल भएका चल्लाहरुलाई ‘कलिङ’ गरेर हटाउनुपर्ने हुन्छ ।
तर, ह्याचरीले सप्लायर्सलाई र सप्लायर्सले कृषकलाई
कम तौल भएका चल्ला पनि मिसाएर पठाउने गरेको पाइन्छ । यसले उत्पादित कुखुराको तौलमा
असर पार्ने गरेको छ । खोरमा अस्थिर तौलका कुखुराहरु भएपछि औषत तौल कम आउने भएकाले कृषक
यसको प्रत्यक्ष मारमा छन् ।
त्यही खोरमा कुनै ३ किलो
र कुनै साढे १ किलोको कुखुरा भयो भने कृषकले ठूलो कुखुराको मूल्य पाउन सक्दैन ।
व्यवसायीहरुले ठूलो कुखुराको प्रतिकिलो मूल्य बढि र सानो कुखुराको प्रतिकिलो मूल्य
कम दिने भएकाले छ्यासमिसे कुखुराकै कारण कृषक कम मूल्यमै खुम्चिनुपर्ने बाध्यकारी
अवस्थामा छन् ।
‘फ्रोजन मिट’ उत्पादनलाई
जोड
अन्य पेशाको तुलनामा
ब्रोइलर कुखुरा पालन ‘जुवाको खेती’ नै हो । थोरै समयमै प्रतिफल दिने पेशा
हुँदाहुँदै पनि यसको सहज व्यवस्थापन हुन नसक्दा घाटा र नाफाको कुनै ग्यारेन्टी नै
हुँदैन । बजारको पहुँच राम्रो हुँदाहुँदै पनि अस्थिर बजार मुल्य ले कृषक मर्र्कामा परेका छन् । समग्र
समाधानका लागि जिउँदो कुखुरा व्यापारीको ढोकासम्म पुर्याउने भन्दा पनि बजारमा कृषक
आफैंको पहुँच व्यवस्थापन हुनुपर्ने आवश्यकता देखिन्छ ।
यसको एउटा उचित विकल्प
‘फ्रोजन मिट’ उत्पादनलाई हुन सक्छ । अन्य देशमा यसको प्रयास भएको भए पनि नेपालमा
भने प्रयास समेत गरिएको पार्इंदैन । ‘फ्रोजन मिट’ प्रविधि अन्तर्गत रहेर सप्लाई
गर्ने हो भने कृषकले बाटोमा बेहोर्नुपर्ने क्षति न्युनिकरण हुन्छ । विशेष प्रविधिबाट
शुद्धिकरण गरिएको यस्तो मासु कम्तिमा ३ महिनासम्म प्रयोग गर्न मिल्छ ।
लामो समयसम्म प्रयोग गर्न
मिल्ने, जिउँदै बजारमा पुर्याउन
नपर्ने, र कृषकले बजार कुरेर पनि
बस्न नपर्ने भएकाले यसमा बिचौलिया न्युनिकरण हुन सक्छ । यसमा सरकारले उचित मूल्य
भने निर्धारण गरिदिनुपर्छ । उचित मूल्य निर्धारणसँगै ‘पकेट’ ठाउँहरुमा ‘फ्रोजन
मिट’ उत्पादनका लागि विशेष ‘जोन’ हरु खडा गरिनुपर्छ ।
No comments:
Post a Comment