ब्रोईल पालक किसानको श्रम दलालले कसरी झ्वाम पार्दछन , कुखुरा पालक किसानको यथार्थ बर्णन जस्ताको तस्तै पढ्नुहोसा ।

 ब्रोईलर पालन कुखुरा पालन किसान टेकमान शाक्य ले कुखुरा पालन गर्दा के के समस्याहरु भोग्नु भयो भनेर लेकबेसी खबर अनलाईनमा लेख्नु भएको यथार्थ घटना जुन सबै कुखुरा पालक किसान ले भोगिरहेका छन पढ्नुहोस ।

किसानको श्रम दलालले यसरी पार्छन् झ्वाम !

problem in broiler chicken farming in nepal
ब्रोईल पालक किसानको श्रम दलालले कसरी झ्वाम पार्दछन , कुखुरा पालक किसानको यथार्थ बर्णन जस्ताको तस्तै पढ्नुहोसा ।

टेकमान शाक्य,
टेकमान शाक्य, 
२०७२ मा नेपालमा आएको भूकम्पले धेरैजनाको जनजीवनको धार परिवर्तन गर्यो । भूकम्पपछि लगत्तैको भारतको नाकाबन्दीले सर्वसाधारणको दैनिकीमा उथलपुथल नै ल्याइदियो । त्यसको शिकार म आफैँ भएको छु ।

भूकम्प र भारतले लगाएको नाकाबन्दीले मलाई गाउँ फर्कायो । म गाउँ गएँ । अनि सुरु गरेँ व्यवसायीक बाख्रा पालन र ब्रोइलर कुखुरा पालन । नाकाबन्दीले नै मलाई स्वभिमानी बन्नुपर्छ भन्ने पाठ सिकाएको थियो ।

आफैले उत्पादन गर्नुपर्छ र कृषिबाट देशको अर्थतन्त्र सुधार गर्नुपर्छ भन्ने सोचले मैले ब्रोइलर कुखुरा पालन र बाख्रा पालन सुरु गरेको थिए । ‘नमरी स्वर्ग देखिँदैन’ भनेजस्तै यो पेशामा लागेपछि मात्रै मैले त्यो क्षेत्रको दुख र पीडा बुझेँ । यहाँ आफूले यो क्षेत्रमा काम गर्दा भोगेको ‘दलाल’को दादागिरीका केही प्रसंग कोट्याउँदैछु ।

६८ किलो फरक भएको त्यो क्षण

म भर्खरै कुखुरा पालन व्यवसाय सुरु गर्दै थिएँ । धादिङबेसीको एक पोल्ट्री सप्लायर्ससँग मेरो कारोबार थियो । सप्लायर्समार्फत नै काठमाडौंमा १ गाडी कुखुरा लिएर हिँडे । नारान दाइ म सँगै काठमाडौं जानुभएको थियो । काठमाडौंमा ‘निक्कै काँटामा टाँका मार्छ’ भन्ने सुनेको थिएँ । म निक्कै सर्तक थिएँ ।

एक टिपमा ५ सय कुखुरा मात्रै अट्ने भएकाले झण्डै त्यही संख्यामा मात्रै कुखुरा लिएर हामी चाबहिल नजिकै एक कोल्ड स्टोर्समा पुग्यौं । कोल्ड स्टोर्समा दैनिक झण्डै ४ हजार कुखुरा एक बिहानमा काटिँदो रहेछ ।

त्यहाँ कुखुरालाई पुनः तौल गर्ने कुनै मौका नै थिएन । गाडीबाट १ ढक कुखुरा झिक्यो, काँटामा हाल्यो, अनि काटेर बजारमा सप्लाई गरिँदो रहेछ । चित्त नबुझेमा पहिले जोखिएको कुखुरा फेरि जोख्छु भन्न नपाइँने । किनकी पहिले जोखेका कुखुरा त बजारका पसल–पसलमा पुगिसक्छन् ।

खोरमा २२ सय ग्राम अर्थात २ किलो २ सय ग्रामको अनुपातमा कुखुराको तौल थियो । कुनै–कुनै त ३ किलोका पनि थिए । कुखुरा तौल गरेर भ्याइयो । नारान दाई गाडीमा कुखुरा हेरेर बस्दै हुनुहुन्थ्यो । म भित्र तौल लेख्न बसेको थिएँ । तौल लेख्न कोल्ड स्टोर्सका व्यक्ति पनि बसेका थिए । काठमाडौं आइपुग्दा कोल्ड स्टोर्सको काँटाले कुखुराको तौल अनुपातमा १ किलो ८ सय ग्राम मात्रै देखायो ।

जोखिएकामध्ये १ पटक ६८ किलो र अर्को पटक ६८ किलो १ सय ग्राम भएको थियो । मैले दुवैचोटीको तौल लेखें । तर कोल्ड स्टोर्सका ती व्यक्तिले एक पटक जोखेको ६८ किलो मात्रै लेखे । अर्को पटक जोखेको ६८ किलो १ सय ग्राम लेखेनन् । अन्त्यमा हिसाब गर्दा ६८ किलो १ सय ग्रामको फरक पर्यो । ती व्यक्तिले ६८ किलो मात्रै हो भने ।

अर्को पटक जाखिएको मेरो ६८ किलो १ सय ग्राम कुखुरा नै हरायो । व्यापारीले त्यत्रो कुखुरा नै गोलमोल बनाउन खोजे । म भन्छु, दुई पटक गरेर ६८ किलो र ६८ किलो १ सय ग्राम दुवै परिमाणको कुखुरा राखिएको छ। तर व्यापारीले एक पटक जोखेको कुखुराको मात्रै हिसाब देखाउँछन् ।

हामी दुईबीच मत बाझियो । म पनि आफूले मिहेनत गरेको फललाई त्यतिकै दिने पक्षमा थिइनँ । ६८ किलो भनेको त्यतिबेलाको १ सय ९० रुपैयाँ प्रतिकिलोको हिसाबले १२ हजार ९ सय २० रुपैयाँ हुन आउँछ ।

मैले ती व्यक्तिसँग त्यति धेरै बोल्न पनि मन लागेन । किनकी उसँग कुखुरा काट्न प्रयोग गरिने हतियार थियो । मलाई हतियारदेखि साह्रै डर लाग्छ, रीसको झोँकमा जे पनि हुन्छ जस्तो लाग्यो ।

झण्डै ४ घण्टा म, नारान दाई र ड्राइभर त्यही कोल्ड स्टोर्समा बसिरह्यौँ सञ्चालकलाई पर्खेर । सञ्चालक झण्डै चारघण्टापछि आइपुगे । अनि आफूले सबै कुखुराको मूल्य नपाएको बतायौं ।

हामी दुवैजना आ–आफ्नै दाबीमा थियौँ । संचालकले मध्यस्त बाटो रोजे । दुवैबाट आधा–आधा छाड्ने कुरा भयो । उनले ३४ किलो मात्रै बिलमा जोड्ने कुरा गरे ।
मलाई लाग्यो, मैले त सप्लायर्स मार्फत कुखुरा लिएर आएको हुँ । योसँग पनि कुरा गरेर फाइदा छैन जस्तो लागेर सिधैँ सप्लायर्सका सञ्चालकलाई फोन  गरें । अनि हुइकियौँ कुखुरे गाडीमा धादिङ ।

झण्डै १ हप्तापछि कोल्ड स्टोर्सले मेरो कुखुराको तौल ६८ किलो नै जोखिदिएछ । त्यसका लागि सप्लायर्सका दाजुलाई धेरै धन्यवाद दिएँ । किसानको श्रमलाई त्यतिकै खान पाइँदैन भन्दै राजेन्द्र दाइले कोल्ड स्टोर्सका संचालकलाई थर्काउनुभएछ । म जस्ता केही अक्षर जानेका व्यक्ति त यसरी ठगिने प्रपन्चमा रुमलिन्छौँ भने निरक्षर कयौं कुखुरापालक किसानहरुको हालत कस्तो होला ?

किसानलाई प्रतिकिलो २ सय, दलाललाई ३ सय

त्यतिबेला काठमाडौंमा कुखुराको भाउ प्रतिकिलो १ सय ५० रुपैयाँमा झरेको थियो । काठमाडौंमा ल्याएर १ सय ५० रुपैयाँमा कुुखुरा बेच्नुभन्दा गोरखाको सिमानमा पर्ने हिमाली भेग धादिङको बसेरी पुर्याएर प्रतिकिलो २ सय रुपैयाँमा कुखुरा बेच्नु मलाई धेरै नै फाइदा हुन्थ्यो । किनकी १ टिप कुखुरामा ५० रुपैयाँ फरक हुँदा पनि ५० हजार रुपैयाँ मलाई बढी आउँथ्यो ।

म सल्यान्टारमा थिएँ । नारन दाइलाई कुखुरा लोड गरेर आउन भनें । आफैंले कुखुरा बेचेर हिँड्ने फुर्सद मसँग थिएन । त्यसैले एक दलालमार्फत कुखुरा सप्लाई गर्ने सम्झौता भयो । उसले हामीलाई प्रतिकिलो २ सय रुपैयाँ दिने । उसले जतिमा बेचे पनि पाउने । म त्यो रेटमा मान्नुको कारण के हो भने नि काठमाडौंको १ सय ५० रुपैयाँभन्दा त्यहाँको २ सय रुपैयाँले मलाई ५० हजार रुपैयाँ धेरै आउँथ्यो । अघिल्लो दिन बेलुका ८ बजेतिर कुखुरा लोड गरियो ।

बसेरीको डाँडासम्म कुखुरा पुर्याउँदा भोलिपल्ट बिहानको ८ बजिसकेको थियो । मैले तौल टिप्दै गएँ । ती दलालले कुखुरा बेच्दै हिँडे । मलाई अचम्म लाग्यो । किनभने उसले मेरो कुखुरा बसेरीबासीलाई ३ सय रुपैयाँमा बेच्दै थिएँ । म बोल्न सकिरहेको थिइनँ ।

उसँग मैले किलोको २ रुपैयाँ मात्रै लिने सहमति जनाइसकेको थिएँ । उसले कसैसँग पनि अर्डर लिएको रहेनछ । त्यसमा पनि मलाई रीस उठिरहेको थियो । रीसलाई काबुमा राख्ने प्रयत्नमा थिएँ । अर्डर नभएपछि बेलुकासम्म लाग्ने त कुरा नै भयो । बेलुकासम्ममा पनि कुखुरा बेचेर भ्याइएन । ५ सय कुखुरामा अझै १ सय ५० कुखुरा बाँकी रह्यो ।

त्यो कुखुरा बोकेर अझमाथि लेकतिर लाग्ने उसले प्रस्ताव गर्दै थियो । मलाई एकदमै सह्य भएन । अनि मैले ती सबै कुखुरा फिर्ता लिएर आएँ । खोरमा कुखुरा ल्याईपुग्दा बेलुकीको ८ बजिसकेको थियो । अघिल्लो दिन लोड गरेको कुखुराले दानापानी खान नपाएको २४ घण्टा कटिसकेको थियो ।

जे पर्ला पर्ला, मरे फालौँला, बाँचे पालौँला भनेर मैले कुखुरालाई खोरमै ल्याएर राखें । अब विश्लेषण गरौं कि कुखुरा पालक किसानले कमाउने रहेछ कि बिचौलिया या ‘दलाल’ हरुले ?

बजार भाउ २ सय २० रुपैयाँ, किसानलाई १ सय ९० मात्रै

कुखुरा बेच्न हिँडेको दिन रातभरी गाडीकै यात्रा हो । दिउँसो कुखुरा लोड गरियो भने धेरै मर्ने हुन्छ । भोलिपल्ट बिहान कोल्ड स्टोर्समा कुखुरा पुर्याउन अघिल्लो दिन बेलुकी ६ बजेतिरबाटै लोड गर्न सुरु गर्नुपर्छ ।

एकपटक त्यस्तै भयो । कुुखुरा लिएर हामी ज्वालामुखी सुनखानीबाट हुइकियौँ । हाइवेमा आएर चिया खायौं । गर्मीको समय थियो । ड्राइभरले गाडी अलि तीव्र गतिमै चलाएछ क्यारे । बिहान ४ बजे काठमाडौं आइपुग्ने भनेका हामी ३ बजे नै हामी काठमाडौंको एक कोल्ड स्टोर्समा आइपुग्यौं ।

कोल्ड स्टोर्स सञ्चालकलाई फोन गर्यौं । ४ बजेभन्दा पहिले ढोका खुल्दैन भने । हामी १ घण्टासम्म त्यही गाडीमा बसिरह्यौं । सुत्ने कुरा पनि भएन त्यो १ घण्टामा । किनकी कुखुरा चोरी हुन्छ भन्ने हामीलाई थाहा थियो । त्यो पट्यारलाग्दो १ घण्टाको समयपछि बल्ल कोल्ड स्टोर्स सञ्चालकले सटर उघारे । कुखुरा जोखियो ।

पोल्ट्री सप्लायर्स मार्फत नै हामी कुखुरा लिएर कोल्डस्टोर्स पुगेका थियौं । त्यो कोल्ड स्टोर्स भारतीय नागरिकको रहेछ । मेरो अनुमान थियो कुखुराको अनुपातको तौल साढे २ किलो त आउँछ होला । किनकी कुखुरा ठूलै थियो । तर त्यसो हुन सकेन । औषतमा १ किलो ९ सय ग्रामको तौल निस्कियो । म बोल्न सकिँन । फेरि तौलिन कुखुरा बजार पुगिसकेको थियो ।

हिसाब सुरु भयो । सप्लायर्सको दाइले प्रतिकिलो २ सय २० रुपैयाँ भन्नुभएको थियो । कोल्ड स्टोर्सले भने १ सय ९० रुपैयाँ मात्रै हिसाब लगायो । अनि लाग्यो, म अब अरुको ‘कन्ट्रयाक’ मा कहिले पनि काठमाडौंमा कुखुरा ल्याउदिनँ । आखिर काम गर्ने कालु, आम्दानी खाने चाहिँ अरु नै ? यो त भएन नि !

हरेक तौलमा १ प्रतिशत कटौती

हरेक पटकको तौलमा कोल्ड स्टोर्सले १ प्रतिशत कटौती गर्ने गरेका छन् । त्यो भनेको, मैले २ हजार कुखुरामा ४ हजार किलोमध्ये ४० किलो कुखुरा कोल्ड स्टोर्स अथवा व्यापारीलाई सित्तैमा दिनुपर्छ ।

यसको अनुपातको मूल्य झण्डै ८ हजार पर्न आउँछ । कटौती गरिएको यो तौलको मूल्य किसानलाई दिइँदैन । एउटा मात्रै कोल्ड स्टोर्सले होइन, हरेकले यही गर्छन् । यसको अन्त्य हुनु जरुरी छ । ब्रोइलर कुखुरा पालक किसान अहिले यसरी नै चौतर्फी मर्कामा छन् । स्वयं मैले पनि एकपटक भोगिसकेको छु ।

कुखुरा पालन मात्रै होइन, कृषिको प्रत्येक क्षेत्रमा बिचौलियाहरुको बिगबिगी छ । सरकारले यस्ता बिचौलियाको बाटो बन्द नगरिदिने हो भने किसानको कहिल्यै उन्नति हुन्न । उन्नति त ती बिचौलियाको मात्रै हुन्छ । 
उज्यालो ९० नेर्टवकबाट 

शाक्य उज्यालो ९० नेर्टवकमा आबद्ध छन् ।

No comments:

Post a Comment